आजदेखि लागू हुँदै ह्वाट्सएपको विवादित ‘प्राइभेसी पोलिसी’, स्वीकार नगर्दा के हुन्छ ?

 

काठमाडौं । लोकप्रिय इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपको नयाँ प्राइभेसी पोलिसी आज मे १५ देखि लागू हुँदै छ । केही प्रयोगकर्ताले कम्पनीको यो नयाँ नीति स्वीकार गरिसकेका छन् । तर अन्य करोडौं प्रयोगकर्ताले अहिलेसम्म यसलाई एक्सेप्ट (स्वीकार) गरेका छैनन् ।

ह्वाट्सएपको यो नयाँ प्राइभेसी पोलिसीलाई लिएर विश्वव्यापी रुपमा निकै ठूलो विवाद उत्पन्न भएको थियो । जसका कारण ह्वाट्सएपमा प्रयोगकर्ताहरु सिग्नल, टेलिग्राम जस्ता अन्य प्रतिस्पर्धी एपतर्फ आकर्षित भएका थिए ।

यद्यपि ह्वाट्सएपले हालै भारतको दिल्लीस्थित उच्च अदालतमा दायर भएको मुद्दामा बयान दिँदै आफ्नो प्राइभेसी पोलिसी समेत इन्टरनेटमा आधारित तमाम अन्य एप समान रहेको बताएको छ ।

ह्वाट्सएपको उक्त नीति स्वीकार नगर्दा के हुन्छ भन्ने प्रश्न तपाईंको मनमा समेत उठिरहेको हुनसक्छ । आज हामी त्यसै विषयमा यहाँ चर्चा गर्दै छौं । ह्वाट्सएपका अनुसार नयाँ प्राइभेसी पोलिसी स्वीकार नगर्ने प्रयोगकर्ताको अकाउन्ट डिलिट गरिने छैन ।

तर केही फिचर प्रयोग गर्नबाट ती प्रयोगकर्ताहरु बञ्चित हुनेछन् । जसमा म्यासेज र कल जस्ता सेवा समेत छन् । जब कि यस अघि कम्पनीले प्राइभेसी पोलिसी स्वीकार नगर्ने प्रयोगकर्ताको अकाउन्ट नै डिलिट गर्ने घोषणा गरेको थियो ।

ह्वाट्सएपले आज मात्र बताएको छ कि प्राइभेसी पोलिसी स्वीकार नगर्ने कुनै पनि प्रयोगकर्ताको अकाउन्ट डिलिट गरिने छैन । तर कयौं हप्तासम्म यो विवादित नीति स्वीकार नगर्ने प्रयोगकर्ताले आफ्नो च्याटको सूची समेत देख्न पाउने छैनन् ।

यसरी अन्ततः त्यस्ता प्रयोगकर्ताको ह्वाट्सएपमा आउने कल, भिडिओ कल, वा रिप्लाई दिने सुविधामा रोक लाग्नेछ । यी अपडेट स्वीकार नगर्दा तपाईं ह्वाट्सएपका सबै फिचर प्रयोग गर्न पाउनु हुने छैन ।

यद्यपि तपाईंले केही समयसम्म कल र नोटिफिकेसन पाउनु हुनेछ । तर एपमा आउने म्यासेज पढ्न पाउनुहुने छैन । अनि यसबाट कसैलाई म्यासेज समेत पठाउन सक्नुहुने छैन । त्यसो त तपाईंले १५ मे पश्चात समेत ह्वाट्सएपको यो नीति स्वीकार गर्न सक्नुहुन्छ ।

यसका लागि कम्पनीले नोटिफिकेसनमार्फत तपाईंलाई स्मरण गराइरहने छ । नयाँ प्राइभेसी पोलिसीलाई लिएर ह्वाट्सएपले यस्तो नीति केवल बिजनेस अकाउन्टका लागि मात्र हुने उल्लेख गरेको छ ।

जसअनुसार विजनेस अकाउन्टबाट हुने च्याटलाई मात्र ह्वाट्सएपले पढ्नेछ र आफ्नो प्यारेन्ट कम्पनी फेसबुकसँग शेयर गर्नेछ । तर निजी अकाउन्टका च्याटको प्राइभेसी पोलिसीसँग कुनै सम्बन्ध रहने छैन ।

यदि तपाईं ह्वाट्सएपको यो नयाँ पोलिसी स्वीकार गर्न चाहनुहुन्न भने १५ मे अघि नै आफ्नो एन्ड्रोइड वा आईफोनमा आफ्नो पुरानो च्याट एक्सपोर्ट गर्न सक्नुहुन्छ ।

साथै आफ्नो अकाउन्टको रिपोर्ट डाउनलोड गर्ने सुविधा समेत पाउनु हुनेछ । यदि तपाईं एन्ड्रोइड, आईफोन, वा काई ओएसबाट ह्वाट्सएप डिलिट गर्नुहुन्छ भने त्यसलाई पुनः एक्टिभ गर्न सकिने छैन ।

यस्तोमा तपाईंका पुराना सबै च्याट डिलिट हुनेछन् र तपाईंलाई सबै ह्वाट्सएप ग्रुपबाट समेत निकालिनेछ । साथै तपाईंको डिभाइसमा रहेको ह्वाट्सएपको ब्याकअप समेत मेटिने छ ।

Post a Comment

Previous Post Next Post

Social media icon

Youtube

#