चिनियाँ अनुदानको स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी नाकातर्फ प्रस्थान


 २ जेठ, काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् ।

महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी भन्सारका अधिकारीले बताए ।                                        तातोपानी नाकाका भन्सार अधिकृत नारद गौतमले ती सामान आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइने बताए । गौतमले अनलाइनखबरसँग भने, ‘उताबाट सामान आउने जानकारीमा आएको छ, हामी त्यसैको प्रतीक्षामा छौं । यहाँ आउनासाथ ती सामान हामी फास्ट ट्र्याकमा पठाउँछौं ।’ कुन–कुन सामान कति–कति परिमाणमा आउँदैछन् भन्ने जानकारी आफूहरुसम्म नआइपुगेको उनले बताए ।

तातोपानी भन्सारमा चीनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । ‘स्वास्थ्य मन्त्रालयलाई चीनले सामान हस्तान्तरण गरेपछि सुरक्षित साथ छिटो पठाउने प्रक्रिया अघि बढ्छ,’ भन्सार अधिकृत गौतमले भने ।

कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ । केही थान सिलिण्डरहरु नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट ओसारेको छ । पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर ल्याएको जहाज दोस्रो खेप लिन गएराति फेरि बेइजिङ गएको छ ।

एकैपटक धेरै सामग्री छिटो ल्याउन सकियोस् भनेर स्थलमार्ग प्रयोग गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सन्चालन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले चिनियाँ अनुदानको १८ हजार थान अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै आउन लागेको जानकारी दिए ।

Post a Comment

Previous Post Next Post

Social media icon

Youtube

#